NRNA प्रेस विज्ञप्ति

Thu, Oct 15th, 2015:मा प्रकाशित

गैरआवासीय नेपाली संघको सातौं अन्तराष्ट्रिय अधिवेशन काठमाण्डौंको सोल्टी होटलमा बुधबार सुरु भएको छ । विश्वका ७१ मुलुकबाट आएका करिव १ हजार दुई सय प्रतिनिधिको उपस्थीतिमा अधिवेशन सुरु भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो र प्रमुख सरंक्षक रामप्रताप थापाले अधिवेशनको संयुक्तरुपमा उदघाटन गर्नुभयो ।

अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष शेष घलेले संस्थाका अगाडी गम्भिर जिम्मेवारी र अथाह सम्भावना रहेकाले गैरआवासीय नेपालीहरुले त्यो जिम्मेवारी बहन गर्न सक्नेगरी तयार हुनुपर्ने बताउनुभयो । दुई बर्षको अवधिमा संस्थाले हाँसिल गरेका उपलब्धिबारे जानकारी दिँदै अध्यक्ष घलेले हालै नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्राबधान समेटिएपछि नेपालमा पूँजी र सीप लगानीका लागि गैरआवासीय नेपालीको जिम्मेवारी बढेको बताउनुभयो ।

‘नेपालमा सीप र पूँजी लगानीका लागि हामीले गरेको प्रतिबद्धता अब पुरा गर्ने बेला आएको छ ।’ अध्यक्ष घलेले भन्नुभयो । गैरआवासीय नेपाली संघलाई ७१ मुलुकमा फैलिएका नेपालीको साझा र सुन्दर फुलबारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले १३ बर्षको बिचमा संस्थाले गरेको उन्नती र प्रगतिप्रति खुसी ब्यक्त गर्दै गैरआवासीय नेपालीहरुको सीप र पूँजी नेपालमा ल्याउन सके मुलुकले सम्बृद्धि हाँसिल गर्न सक्ने बताउनुभयो । मुलुक धनी नभएसम्म ब्यक्ति धनी हुनुको खासै अर्थ नरहने भन्दै संस्थापक अध्यक्ष महतोले बिदेशमा रहेका नेपालीहरुको संख्या घट्दै जानुपर्ने र नेपालमै रोजगारी र अबसरहरुको बृद्धि हुनुपर्ने बताउनुभयो ।

संस्थाका प्रमुख संरक्षक रामप्रताप थापाले गैरआवासीय नेपालीहरुको मागलाई सम्बोधन गर्दै संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान राखेकोमा खुसी ब्यक्त गर्दै यसले नेपालमा परोपकारी काम तथा लगानी अभिबृद्धिका लागि आयाम थप्ने बताउनुभयो । यसले मातृभूमीसँगको सम्बन्ध चीरस्थायी राख्न भूमिका खेल्ने उहाँको भनाई थियो । अधिवेशनलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष जीवा लामिछाने र पूर्व अध्यक्ष देवमान हिराचनले गैरआवासीय नेपाली अभियानको मर्म र लक्ष्यबारे प्रकाश पार्दै अधिवेशन तथा सम्मेलन सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

प्रतिबेदन पारित

अधिवेशनको उद्घाटन सत्रपछि बन्द सत्र सुरु भएको थियो । बन्द सत्रमा महासचिव कुमार पन्तले पेश गर्नुभएको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष डा. बद्री केसीले पेश गर्नुभएको आर्थिक प्रतिबेदन पारित भएको छ ।यसैगरी बिधान समितिका संयोजक डा. हेमराज शर्माले पेश गर्नुभएको प्रस्ताव आबश्यक छलफल र संसोधनपश्चात पारित भएको छ । जसअनुसार अन्तराष्ट्रिय समन्वय परिषद्मा अब एक महिलासहित तीन जना उपाध्यक्ष रहनेछन् भने एक सचिव र सहकोषाध्यक्ष पद थप गरिने भएको छ । यसैगरी ६ वटै क्षेत्रमा महिला क्षेत्रीय उपसंयोजक र युवा क्षेत्रीय उपसंयोजक पदसमेत थप गरिएको छ ।

पहिलोपटक बिद्युतीय मतदान हुने

यसैवीच गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने भएको छ । संघले पहिलोपटक नेपालमै बनेको बिद्युतीय मतदान मेसिनको प्रयोग गरी चुनाव गर्ने भएको हो । यसले मतदान र मत गणना प्रकृया सरल र छिटो हुने छ । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि बुधबार बिभिन्न पदमा मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ । मत परिणाम बिहीबार साँझ नै आउने अपेक्षा गरिएको छ । नवनिर्वाचित कार्यसमितिले शनिवार सपथ लिने कार्यक्रम रहेको छ ।

यसैवीच नेतृत्व चयनसँगै शुक्रबार बिहान गैरआवासीय नेपाली संघको सातौ बिश्व सम्मेलन सुरु हुने छ । ‘एनआरएनएः राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार’ भन्ने नारासहित सुरु हुने यो सम्मेलन भूकम्पपछिको पुनःनिर्माणकै सेरोफेरोमा केन्द्रीत रहने छ । राष्ट्रपति डा. रामबरण यादवले उदघाटन गर्ने सम्मेलनको समापन घोषणापत्र जारी गर्दै शनिवार समापन हुने छ ।
DSC_1592

DSC_1595

DSC_1618

मन केसी
प्रवक्ता
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्
थप जानकारीका लागि सम्र्पकः ९८१००६८५७५
मितिः २०७२÷०६÷२७

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.