सरुभक्तलाई लाग्छ, साहित्यभन्दा बढी नाम चल्यो !

Sat, Sep 17th, 2016:मा प्रकाशित

पागल बस्तीको २५ वर्ष मनाएँ, यही वर्ष अर्को उपन्यास आउँछ

विशाल भट्टराई

काठमाडौं, १ असोज – कुराकानीको शुरुवातमै उनले व्यक्तिगत कुराहरू नसोध्न अनुरोध गरे । तर अन्त्यमा भने, ‘साहित्यभन्दा बढी नाम चल्यो कि जस्तो लाग्छ ।’ साहित्यकै कारणले आफू भक्तराज श्रेष्ठबाट सरुभक्त भएको चाहिँ उनले स्वीकारे ।

नाम नै उनको कथा हो । आस्था हो । जीवन हो । विश्वासको प्रतीक हो । त्यसैले त उनको नामको भित्री रहस्य अहिलेसम्म पनि रहस्यमयी नै छ । धेरैले धेरैखाले लख काट्छन्, त्यो बेग्लै विषय हो । तर उनले अहिलेसम्म पनि आफ्नो नामको सस्पेन्स बाहिर खोलेका छैनन् ।

सरुभक्तकै जीवन बाँचेका उनलाई सबैले नामको मर्यादा गरून्, पवित्र मानिदिउन् जस्तो लाग्छ । ‘सरुभक्त मेरो नाम हो, कुनै दिन आत्मकथा लेख्न परे लेखौंला, यो मेरो सम्पत्ति पनि हो,’ उनले भने, ‘तर म व्यक्तिगत कुराहरू सार्वजनिक माध्यमबाट भनेर बाहिर ल्याउन चाहन्नँ ।’

उनको नामको विषयलाई लिएर नेपालका साहित्य पारखीहरूले थुप्रै प्रकारका धारणाहरू बनाएका छन् । तर उनले यसलाई आफ्नो साहित्यिक नाम मात्रै बुझिदिन अनुरोध समेत गरे । नेपालका साहित्य पारखीहरूले उनको नामलाई प्रेमिकासँग जोडेर बुझ्ने कोशिश गर्छन् ।
यसै मेलोमा उनले भने, ‘प्रेममा अटुट विश्वास छ, पवित्र भावनाको रूपमा बुझेको छु, उच्च सम्मान गर्नुपर्छ ।’ तर अहिलेसम्म कहीँ पनि व्यक्तिगत रूपमा प्रेम र नामको विषयमा आफूले बाहिर नबोलेको उनले बताए ।

सस्तो प्रचारको लागि आफू नामका विषयमा नबोल्ने बताए । केही कुरा नबोलेरै पनि मीठा हुने, उनको नामसँगको किस्सा यस्तै भइरहेको छ ।
बिल गेट्सले आफ्नो लकरमा कति पैसा छ भन्ने कुरा कसैलाई पनि भन्दैन । उनले पनि आफ्नो नाममा के रहस्य छ कसैलाई भन्दैनन् । ‘मान्छेसँग केही बहुमूल्य भावना हुन्छन्, ती दुनियाँलाई भन्ने कुरा हुँदैन,’ उनले आफ्नो व्यक्तिगत जीवनको बारेमा भन्छन्, ‘डीप फिलिङ्स आर म्युट ।’

˚˚˚
उमेरले ६१ वर्षमा पाइला टेकेका नेपालका प्रसिद्ध साहित्यकार सरुभक्त पोखरामा जन्मिएका हुन् । पोखरामै जन्मिए, पोखरामै हुर्किए । एसएलसीसम्मको पढाइ पोखरामै पूरा गरे । आइएस्सी पोखरा र काठमाडौंको अस्कल क्याम्पसमा पढेर पूरा गरे । डाक्टर बन्न चाहन्थे । पढाइमा अब्बल थिए । तर पछि पोखराबाटै बिए पास गरे । डाक्टर बन्ने चाहना त्यहीँ कतै चुँडियो ।

‘म पढ्न त पढ्थें तर परीक्षाका लागि कहिल्यै पनि तयार भइनँ,’ उनले भने, ‘पढाइ बिगारें, बुवा आमालाई दुःखी बनाएँ ।’ अल्लारे उमेरमै साहित्यमा लागेका उनलाई साहित्यकै नशा बस्यो । साहित्यमै हराए । तर भन्छन्, ‘म साहित्यका कारण बिग्रिएको होइन, डाक्टरै बन्थें होला, केही व्यक्तिगत कारणहरू छन् ।’

२०२८ सालमा एसएलसी पास गरेका उनले चारवटा विषयमा स्नातकोत्तर अध्ययन गरेका छन् । राम्रै पढेका थिए तर जब जब परीक्षा आयो, उनी भागिरहे । परीक्षाका लागि कहिल्यै तयार भएनन् ।

अध्ययन त गरे तर परीक्षा दिएनन्, पढाई पूरा भएन । अर्थशास्त्र, अंग्रेजी, इतिहास र समाजशास्त्र उनले स्नातकोत्तरमा अध्ययन गरेका थिए । २०४४ सालमा अब पढ्न सकिँदैन भनेपछि उनले पढाई छोडेर पूर्ण रूपमा साहित्यलाई आफ्नो सारथी बताएका थिए ।
‘परिस्थितिले कता कता घुमायो, त्यो बेला दुःख लाग्थ्यो,’ उनले भने, ‘अहिले दुःख लाग्दैन, घरपरिवारले पनि साहित्य राम्रै चिज हो भन्ने बुझेपछि बिस्तारै अवस्था सुध्रिँदै गयो ।’

स्कूले शिक्षामा जहिल्यै प्रथम हुने भक्तराजलाई उनका बाबु—आमाले डाक्टरको रूपमा देख्ने सपना बुनेका थिए तर डाक्टरभन्दा उम्दा निस्किए । सारा नेपाली पाठकले पत्याए, त्यसपछि बा–आमाले पनि पत्याए ।Sarubhakta

‘गल्ती आफ्नै थियो, कसैलाई दोष दिन चाहन्नँ तर अहिले म दुःखी पनि छैन्,’ उनले भने, ‘साहित्यले पाकाहरूको संगत गर्न पाएँ, धेरै कुरा सिक्न पाएँ ।’
˚˚˚
कक्षा ६ मा पढ्दा नै कविता लेख्थे सरुभक्त । कक्षा ६ मा पढ्दा पहिलोपटक कविता लेखेको उनलाई याद छ । गुरुहरूको प्रेरणाले गर्दा आफू साहित्य लेखनमा लागेको उनी बताउँछन् । बाल मस्तिष्कमा कविताको छाप प–यो त्यही छाप सधैं रहिरह्यो ।

‘शुरुशुरुमा कुनै गाम्भीर्य थिएन, रमाइलोको लागि लेख्थें,’ उनले भने, ‘अनुकरण गर्ने प्रवृित्तबाट साहित्य लेख्न शुरु गरें, तर पछि पूर्ण रूपमै साहित्यमा लागें ।’ उनी आफ्ना बाबुबाट पनि प्रभावित थिए, साहित्यका लागि । पोखरामा विख्यात धार्मिक नृत्यकार रहेका बाबुबाट पनि साहित्यको प्रभाव परेको उनी बताउँछन् ।

‘साहित्यमा लाग्ने त योजना नै थिएन, डाक्टर बन्ने कुरा थियो,’ उनले भने, ‘जिन्दगीले घुमायो, साहित्यकार बनें ।’ जीवनप्रतिका थुप्रै गुनासा भएपनि साहित्यमा लागेसँगै ती सबै हराउँदै गएको उनले बताए ।

डाक्टरै बन्न नसकेपनि नेपाली समाजलाई केही दिन सकेकोमा उनले गर्व गरेका छन् ।
˚˚˚
अहिले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कुलपतिको रूपमा काम गरिरहेका उनी नियमित लेखनमा सक्रिय हुन पाएका छैनन् ।
तर यसै वर्ष उनको नयाँ उपन्यास आउँदैछ । नाम जुरेको छैन तर विश्व आतंकवाद र नेपालमा देखिएको वैदेशिक रोजगारीको लहरलाई उनको उपन्यासले खोतलखातल पार्नेछ ।

‘भर्खरै पागल बस्तीको २५ औं वर्ष मनाएँ, यो वर्ष अर्को एउटा नयाँ उपन्यासका साथ नयाँ पाठकमाझ आउँदैछु,’ उनले भने, ‘व्यस्तताले गर्दा धेरै वर्ष हराएँ, यो वर्ष नयाँ पाठकसँग साक्षात्कार होला ।’ पागल बस्ती उनको २०४८ सालमा मदन पुरस्कार जित्ने उपन्यास हो ।

आवश्यकता बमोजिम कविता, गीत, गजल लेखिरहेको भएपनि पुस्तक लिएर बजारमा आउन ढिला भएको उनले बताए । ‘नेपालीहरू कामको खोजीमा विदेशिने होडबाजी चलेको छ,’ उनले भने, ‘विदेशमा नेपालीले भोग्ने दुख र आतंकवादको विषयमा मेरो नयाँ उपन्यास केन्द्रित छ ।’
˚˚˚
उनी ३० को दशकका साहित्यकार हुन् । नेपाली साहित्यमा पुरानो धरातल टेकेरै नयाँपन बढिरहेको उनी बताउँछन् । ‘ठूला—ठूला साहित्यकारहरूले हामीले बाटो दिनुभएको थियो,’ उनले भने, ‘हामीले त्यही बाटो पछ्यायौं, अहिले मेरो छोरोछोरी पुस्ताले पनि त्यही बाटो नै पछ्याउँदै छ ।’ पुराना राम्रा सहित्यकारहरू अहिले स्थापित भइसकेको उनको भनाइ छ ।

‘नयाँ पुस्ताबाट पनि मैले त्यस्तै अपेक्षा गरेको छु,’ उनले भने, ‘अहिले आख्यानको पठन संस्कृति वृद्धि भएको, यो साहित्यको लागि निकै राम्रो कुरा हो ।’ नेपाली साहित्यको मौलिकतामा हिँड्न सक्ने मान्छे स्थापित नै हुने उनको भनाइ छ ।

उनको समयमा साहित्य लेखेकै कारणले कोही विवादमा आउनुपर्दैनथ्यो । तर उनी आए । ‘तरुनी खेती भन्ने उपन्यासलाई केही महिलावादी साथीहरूले गलत बुझेर जलाउनु पनि भयो,’ उनले भने, ‘नत्र हाम्रो पालामा लेखेर विवादमा आउने कुरै थिएन ।’ अहिले भने केही लेखकहरूले चर्चाको लागि भएपनि विवादमा आउन चाहाने उनको भनाइ छ ।

‘साहित्यले मन छुनुपर्छ, पाठकले केही पाएन भने साहित्यकारले गरेको सबै काम खेर जान्छ,’ उनले भने, ‘सबै कृतिहरू अभिरुचिपूर्वक पढिनेगरी लेखिनुपर्छ ।’ तर उनी आफंैलाई अलि अप्ठ्यारो साहित्य लेख्ने मान्छेको रूपमा कतिपयले बुझेका छन् ।

‘हो, म एउटै ढर्राको साहित्य लेख्दिनँ,’ उनले भने, ‘साधारण मान्छेदेखि लिएर बौद्धिक वर्गले बुझ्नेसम्मका साहित्य मैले लेखेको छु ।’ आफ्ना प्रयोगवादी साहित्य मात्रै पढ्ने पाठकहरूले आफूलाई त्यस्तो रूपमा बुझेको उनी बताउँछन् । Sarubhakta2
‘चाइना कम्पनी जस्तो गीत नबुझ्ने कोही छैन,’ उनले भने, ‘त्यसैले मैले सबै अप्ठ्यारो मात्रै लेख्यो भनेर नभनिदिनुहोला ।’
तर आफूले लेखेका केही कृतिहरू अलि जटिल नै भएको उनले बताए । विविधतालाई साहित्यमा ल्याउने कोशिश गरेकोले केही समस्याहरू सिर्जना भएको उनी स्वीकार्छन् ।
तीन दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशन गरेका छन् । त्यस्तै दुई दर्जन अप्रकाशित किताबहरू पनि उनले लेखेका छन् । केहीलाई प्रकाशन गर्ने तयारी पनि गरेका छन् ।
उनका अनुसार एक दर्जन नाटक, त्यति नै संख्यामा कविता र त्यति नै संख्यामा कथा आख्यानहरू उनले प्रकाशन गरिसकेका छन् ।
पागल बस्ती, त्रासदी, तरुनी खेती, चुली लगायत उनका नाम कमाएका कृतिमा पर्छन् । साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाहरू बिस्तारै सेलाउँदै जानाले पनि साहित्यिक कृति प्रकाशनमा समस्या भएको उनले बताए ।
˚˚˚
पाँच भाइ र दुई बहिनीमा जेठो छोराको रूपमा जन्मिएका सरुभक्तले विवाह भने गरेनन् । सबै आ–आफ्नै काममा छन् । घरमा आमा छिन्, बुवालाई भने दुई वर्षअघि मात्रै गुमाए । विवाह नभएपनि छोरी भने बनाएका छन् उनले – सरस्वती प्रतीक्षा । उनले साहित्यिक माध्यमबाटै प्रतीक्षालाई छोरी बनाएका हुन् ।

‘अहिले त नाति पनि जन्मियो, हजुरबुवा नै बनें,’ उनले भने । विवाह नगरेपनि आफू पारिवारिक जीवनमै रहेको उनले बताएका छन् । घरपरिवार, छोरी नातिसँगै आफ्नो जीवन व्यतित भइरहेको उनले बताए ।

 

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.